संक्षिप्त परिचय
मार्मा गाउँपालिकाको संक्षिप्त परिचय: वि.स.२०७३ सालमा घोषणा भएका ७५३ वटा स्थानीय तह मध्ये मार्मा गाउँपालिका प्रदेश नं. ७ दार्चुला जिल्लामा अवस्थित एउटा स्थानीय तह हो । यो गाउँपालिका दार्चुला जिल्लाको दक्षिण पुर्वी भागमा अवस्थित छ । यस मार्मा गाउँपालिकामा साविकका ५ वटा गा.वि.स.हरु (शेरी, तपोबन, लटीनाथ गुल्जर (२–९) र सितोला १-४ र ९ ) लार्इ एकिकृर्त गरी ६ वटा वडाहरु मा विभाजन गरिएको छ । यस मार्मा गाउँपालिकाको पूर्वमा बझाङ्ग जिल्ला , पश्चिममा दार्चुलाको नौगाड गाउँपालिका तथा शैल्यशिखर नगरपालिका , उत्तरमा अपिहिमाल गाउँपालिका र दक्षिणमा बैतडीको डिलाशैनी गाउँपालिका तथा बझाङ्गको बुङ्गल नगरपालिका रहेका छन।
यस मार्मा गाउँपालिकाको क्षेत्रफल २०८.०६ वर्ग कि.मि. रहेको छ । वि.स.२०६८ को जनगणना अनुसार यस मार्मा गाउँपालिकाको कूल जनसंख्या १४९५६ रहेको छ । मार्मा गाउँपालिका सदरमुकामबाट लगभग १५ कोष टाढा रहेको छ । यस मार्मा गाउँपालिकामा विभिन्न जातजातीहरु रहेका छन । जसमा ब्रामण ( जोशी ,पन्त, ओझा,भट्ट ) , ठकुरी (सिंह) , क्षेत्री ( बिष्ट , महता , सितोली , डडाल , कोट्टारी,धामी, ठगुन्ना, भण्डारी,मन्याल, कार्की, महरा र रोकाया आदी ) , दलित ( टमटा, ओड, दमाइ, तिखाल, नेपाली, लुहार , कामी , वि.क. आदी ) तथा अन्य जात जातीहरु यस मार्मा गाउपालिकामा बसोबास गर्दै अएका छन ।
यस मार्मा गाउँपालिकाको बनावट भिरालो जमिन , समथर जमिन , उच्चा डाँडाहरु तथा विभिन्न पानीका मुहानहरु पनि रहेका छन । जस्तै चौलानी नदी , पारीबगरमा नौगाड खोला, घट्टेगाड खोला , तपोबन मर्मतीमा मेलेगाड खोला , शेरी मा रहेको कचुलीगाड खोला ,च्युरानीको दोगाडा खोला आदि पानीका श्रोतहरु रहेका छन । यस मार्मा गाउँपालिकामा विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पनि रहेका छन । जस मध्ये मार्मा गाउँपालिकाको सबै भन्दा अग्लो स्थानमा रहेको परमचुली धाम पनि एक हो । यस्तै दार्चुला जिल्लाकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल तपोबन तातोपानी, लटीनाथ बाबाको मन्दिर(तलार्इमाण्डौ) लटीनाथ , मटेलाको मस्टा मन्दिर ,शेरीको क्वाकट्टे मन्दिर , गुल्जरको दुर्गाभवानी मन्दिर जस्ता थुप्रै धार्मीक तथा पर्यटकीय ठाउँहरु पनि यस मार्मा गाउपालिका भित्र रहेका छन । भोगौलिक हिसाबले विकट रहे पनि यो मार्मा गाउँपालिका प्राकृतिक रुपमा एकदमै सुन्दर र रमणीय ठाउँ रहेको छ ।